‘मीनबहादुरले अन्तरमनबाट दान गर्नुभएको जग्गा स्वीकारेका हौं, उहाँसँग कुनै लेनादेना छैन’

Thankot Times

थानकोट ।

नेकपा एमालेले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले अन्तरमनबाट दान गरेको जग्गा स्वीकारेको बताएको छ।

पार्टी कार्यालय भवन निर्माणमा विवाद उत्पन्न भएपछि एमालेले बुधबार विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो।

एमालेले गुरुङसँग कुनै लेनादेना नरहेको र विचाराधीन मुद्दाको भागिदार पनि उनी स्वयं हुने बताएको छ। ‘अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौं। यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन। उहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूको बारेमा उहाँ आफैंले फेस गर्ने हो। संविधान, कानुनभन्दा माथि कोही पनि छैन,’ केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू अत्यन्त खेदजनक रहेको एमालेले जनाएको छ। ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भर्त्सनायोग्य रहेको विज्ञप्तिमा उल्लेख छ।

एमालेले भाटभटेनीका मालिक गुरुङ विद्यार्थीकालमा अनेरास्ववियुमाका सक्रिय कार्यकर्ता रहेको बताएको छ। त्यसपछि पनि विभिन्न ट्रेड युनियनमा एमाले निकट रहेर काम गरेको एमालेको दाबी छ।

‘स्मरणरहोस्, निज मीनबहादुर गुरुङ विद्यार्थी कालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैंकिङ सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रही कार्य गरेको तथ्य जगजाहेर छ,’ विज्ञप्तिमा भनिएको छ।
 
लोकतान्त्रिक मुलुक व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा र अभ्यास रहेकाले अन्यथा ठानेर सार्वजनिक खपत, कथित शुद्धतावादका नाममा गरिने तर्क-वितर्कको कुनै औचित्य नरहेको एमालेले जनाएको छ। 

भाटभटेनीका मालिक गुरुङले दान गरेको कीर्तिपुर नगरपालिका वडा नं. २, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गामा एमालेले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्दैछ। गत असोज २४ गते बसेको सचिवालयको ३८औं बैठकले संस्थागतरूपमा उक्त जग्गा स्वीकार गरेको एमालेले जनाएको छ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असोज २५ गते पार्टी कार्यालय भवनको शिलान्यास गरेका थिए। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *