यु-१७ एसियन कप छनोट खेल्ने तयारीमा रहेका चार खेलाडी अयोग्य

Thankot Times

थानकोट ।

यु–१७ एसियन कप छनोट खेल्ने तयारीमा रहेका चार खेलाडी अयोग्य भएका छन्।

गत महिना भुटानको थिम्पुमा सम्पन्न साफ यु–१७ च्याम्पियनसिपको सर्वाधिक गोलकर्तासमेत रहेका फरवार्ड सुजन डंगोलसहित डिफेन्डरद्वय जीवन गुरुङ तथा शरण एसके र मिडफिल्डर कृष्णबहादुर आले ‘बोन टेस्ट’ गर्दा अयोग्य (१७ वर्षभन्दा बढी उमेर) देखिएको टिम म्यानेजर बिजेन्द्र पुडासैनीले जानकारी दिएका हुन्। ‘सुजनसहित चार जनाको बोन टेस्ट गर्दा एएफसीले तोकेको मापदण्ड पूरा भएन। त्यसैले उनीहरूलाई छनोट टोलीमा नराखिएको हो,’ उनले भने।

नेपाल साफ यु–१७ च्याम्पियनसिपमा भारतसँग ४–२ ले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो।

नेपालले समूहचरणमा पाकिस्तानसँग १–० को हार बेहोर्दा श्रीलंकालाई ४–० र घरेलु टोली भुटानलाई २–१ ले पराजित गरेको थियो। समूहचरणमा सुजनले श्रीलंकाविरुद्ध ह्याट्रिक गरेका थिए। भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा पुग्दा सुजनले ८५औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। सोही खेलमा कृष्णले पनि गोल गरेका थिए। टिम म्यानेजर पुडासैनीका अनुसार सुजनबाहेक तीन जनाले टेस्ट गरेका थिए। ‘हामीले साफ खेल्न जाँदा पनि सबै खेलाडीको बोन टेस्ट गराएका थियौं। सुजनको पुरानै रिपोर्ट हुँदा उनले टेस्ट गरेनन्। बाँकी तीन जनालाई भने हामीले पुनः टेस्ट गराएका हौं,’ उनले भने।

कतारमा आयोजना हुने एएफसी यु–१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। यो समूहमा नेपालसँगै जापान, कतार र मंगोलिया छन्। नेपालले आफ्नो पहिलो खेल अक्टोबर २३ मा जापानसँग खेल्दै छ। दोस्रो खेल भने नेपालले अक्टोबर २५ मा आयोजक राष्ट्र कतारसँग खेल्नेछ। नेपालले समूहचरणको अन्तिम खेल मंगोलियासँग अक्टोबर २७ मा खेल्ने तालिका छ। एसियन कप छनोटमा आआफ्नो समूहको शीर्ष स्थानमा रहने १० टोलीले सीधै अर्काे वर्षको ३ देखि २० अप्रिलसम्म साउदीअरबमा हुने प्रतियोगितामा स्थान बनाउने छन्।

दोस्रो स्थानमा रहने पाँच टोलीले पनि स्थान बनाउनेछन्। आयोजक भएको कारण साउदी सीधै प्रतियोगितामा छनोट भइसकेको छ। टोली आइतबार कतार प्रस्थान गर्नेछ। बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामा, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राई, सदस्यद्वय मनीष जोशी र मणीराज विष्टले टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तर गर्दै शनिबार बिदाइ गरेका थिए।

टोलीमा चार परिवर्तन

मुख्य प्रशिक्षक सनोज श्रेष्ठले एसियन कप छनोट खेल्न जाने टोलीमा चार खेलाडी परिवर्तन गरेका छन्।

उनले दोस्रो रोजाइका गोलकिपर भक्तबहादुर परियारलाई आराम दिएका छन्। उनको स्थानमा विशेष बानियाँलाई मौका दिए। मिडफिल्डमा पनि उनले एक परिवर्तन गरेका छन्। कृष्णको स्थानमा उनले रञ्जित लामालाई २३ सदस्यीय टोलीमा समावेश गरे। तेन्जिङ शेर्पा र दिगविजय शाहीले पनि टोलीमा स्थान बनाएका छन्। उनीहरू दुवै फरवार्ड हुन्। ‘अहिले टोलीमा आएका खेलाडी पनि साफको तयारी गर्दा नै हामीसँगै थिए। पहिला नै खेल हेरिसकेकाले उनीहरूलाई नै टोलीमा समावेश गरिएको हो,’ पुडासैनीले भने। यीबाहेक साफ च्याम्पियनसिप खेलेका १९ खेलाडीले भने निरन्तरता पाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *