हङकङ सिक्सेस लिग: क्वाटरफाइनल खेलमा नेपाल श्रीलंकासँग पराजित
थानकोट ।
हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको छ ।
आज दिउँसो भएको खेलमा श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपाल ८३ रनमा अलआउट भयो ।
नेपालका नारायण जोशीले १३ रन बनाउनबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । कप्तान सन्दीप जोरा र प्रतिश जिसी शून्य रनमै आउट भए । लोकेश बम ६ र विवेक यादव ५ रनमा आउट भए ।
श्रीलंकाको जितका लागि लहिरु समाराकून र थरिन्दु रथनायकेले दुई/दुई विकेट लिए भने धनञ्जय लक्षण र लिहुरु मधुसंकाले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४ विकेट गुमाएर १२३ रन बनाएको थियो ।
श्रीलंकाका स्यान्डुन वेराक्कोडीले १४ बलमा पाँच छक्का र चार चौका मद्दतमा ५० रन बनाएर रिटायर्ड हर्ट भए । लिहुरु मधुसंकाकाले ३१, लहिरू समाराकूनले २२, थानुका दबारेले १८ रन बनाए ।
नेपालका प्रतिश जिसी र नारायण जोशीले एक/एक विकेट लिए ।
समूह चरणमा नेपालले इंग्ल्यान्ड र अष्ट्रेलियालाई पराजित गर्दै समूह विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको थियो ।
प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा अहिले युएईले बंगलादेशकाे सामना गरिरहेकाे छ ।
अष्ट्रेलिया र पाकिस्तान यसअघि नै प्रतियोगिताकाे सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।














