स्थानीय तहको उपनिर्वाचनः मौन अवधि सुरु, अब के गर्न पाइँदैन ?
थानकोट।
मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध गरिनुलाई मौन अवधि भनिन्छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले मौन अवधि लागू गर्दछ ।
मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाइँदैन ।
निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न बर्जित छ । एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट समेत मत माग्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।
सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता काम गर्न पनि नपाइने आयोगले जनाएको छ ।










