दिवंगत वडाध्यक्ष अधिकारीको स्मृतिमा कीर्तिपुरमा वडास्तरीय फुटबल प्रतियोगिता हुने
थानकोट ।
कीर्तिपुर नगरपालिका वडा नं. ४ का तत्कालीन वडाध्यक्ष श्यामकुमार अधिकारीको स्मृतिमा वडास्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
वडाध्यक्ष राजेन्द्र बानियाँका अनुसार यही बैशाख २३ गतेबाट सुरु हुने श्यामकुमार स्मृति कीर्तिपुर नगरपालिका अन्तर वडा स्तरीय फुटबल प्रतियोगितामा कीर्तिपुर नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गरेका खेलाडी सहभागी हुन सक्नेछन् ।
गाम्चास्थित भगवानस्थान युथ क्लब मैदानमा सञ्चालन हुने प्रतियोगिताका विजेता, उपविजेता तथा व्यक्तिगत विधामा अब्बल ठहरिने खेलाडी नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने वडाध्यक्ष बानियाँको भनाइ छ ।
एउटा वडाबाट एक टोली मात्र सहभागी हुन पाउने प्रतियोगितामा सहभागिताका लागि बैशख २१ गतेभित्र टोली दर्ता गरिसक्नुपर्ने बताइएको छ ।
तत्कालीन वडाध्यक्ष अधिकारी २०८० बैशाख १ गते मोटरसाइकल दुर्घटनामा घाइते हुँदा उपचारकै अवस्थामा सोही साल बैशखा १० गते दिवंगत भएका थिए ।














