बागमती प्रदेशको बजेट पास गर्ने तयारी, कांग्रेस सांसदलाई ह्विप जारी
थानकोट ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी गरिएको छ ।
आइतबार नै प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित गर्ने तयारी गरिएको हो ।
बजेट माथिको विवादका कारण गत असार १२ गतेदेखि पटक पटक अवरुद्ध हुँदै आएको प्रदेशसभाको बैठक शुक्रबार दिउँसो र शनिबार अबेर गरेर बसेको थियो । शुक्रबार बजेट वक्तव्य माथि छलफल गरेर विनियोजन विधेयक पेस गरे पनि प्रतिपक्ष दलले बजेटको पूरक प्रस्ताव माग गरेपछी स्थगित भएको थियो । शनिबार बिहानै दलहरू बिच छलफल गरे पनि सहमति जुट्न नसकेपछि अन्ततः सरकारले शनिबार साँझ संसदमा बजेटको पूरक प्रस्ताव दर्ता गराएको थियो ।
सरकारको बजेट पास गर्ने तीव्र भइरहेका बेला नेपाली कांग्रेस संसदीय दलले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले असार २२ गते बिहान ११ ः ०० बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन र पार्टीको निर्देशनअनुसार मतदान गर्न निर्देशन दिएका छन्।
शनिबार जारी गरिएको पत्रमा प्रमुख सचेतक लम्सालले पार्टीको नीतिगत निर्णयअनुसार बजेट सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्।
यसअघि प्रदेश सरकारको तर्फबाट अर्थमन्त्रीले बजेटमाथि प्रस्तुत प्रस्तावमा सत्तारूढ दल र विपक्षीबिच असहमति देखिएको थियो। उक्त अवस्थामा कांग्रेस संसदीय दलको बैठकले बजेट र सरकारको विरोधमा नबोल्न समेत सचेत गराएको थियो ।
कांग्रेसले ह्विप जारी गर्दै आफ्ना सांसदलाई एक ढिक्का बनाएपछि बजेट पक्षमा उभिन संसदीय दलले निर्देशन गरेको छ ।













