माघ महिनाका लागि यी १२ वाणिज्य बैंकले घटाए ब्याजदर
थानकोट ।
हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमध्ये एक दर्जन बैंकले माघ महिनाका लागि ब्याजदर घटाएका छन् ।
अधिक तरलता चुलिएका कारण बैंकहरूले मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएका हुन् ।
पुसको तुलनामा माघमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.१४ प्रतिशत विन्दुले घटेको छ । पुस महिनामा औसत ब्याजदर ४.८ प्रतिशत विन्दु थियो ।
माघमा मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, एभरेस्ट बैंक,सिद्धार्थ बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
यीमध्ये सबैभन्दा बढी ब्याजदर घटाउनेमा हिमालयन र माछापुच्छ्रे बैंक छन् ।
माघमा व्यक्तिगत मुद्दती निक्षेपमा कृषि विकास बैंकले ४.४० प्रतिशत, एभरेस्टले ४.४० प्रतिशत, कुमारीले ४.४३ प्रतिशत, एसबीआईले ४.४० प्रतिशत, लक्ष्मी सनराइजले ४.५० प्रतिशत, सिटिजन्सले ४.५० प्रतिशत, प्रभुले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले ४.३६ प्रतिशत, हिमालयनले ५ प्रतिशत र सानिमा बैंकले ४.५५ प्रतिशत ब्याज दिनेछन् ।
यस्तै आगामी महिना माघमा व्यक्तिगत मुद्दती निक्षेपमा नेपाल बैंकले ५.१० प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.५० प्रतिशत, नबिलले ४.५५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, एनएमबि बैंकले ५ प्रतिशत, सिद्धार्थ बैंकले ४.५५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ प्रतिशत र एनआईसी एशिया बैंकले ५ प्रतिशत ब्याजदर दिनेछन् ।
यता प्राइम कमर्सियल बैंकले भने माघमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ब्याजदर बढाएर ४.४० प्रतिशतमा पुर्र्याएको छ ।
पुसमा व्यक्तिगततर्फ ४.२५ प्रतिशत ब्याज दिएको थियो ।
माघ महिनाका लागि ४ बैंकहरूले संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १६ बैंकहरूले भने यस्तो निक्षेपको अधिकतम ब्याजदरमा पुस महिनाकै दरलाई कायम राखेका छन् ।










