सरकारले प्रतिशोध राखेर थुन्यो, प्रमाण नपुगेपछि रिहा भएँ : ओली

Thankot Times

थानकोट ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि आफू रिहा भएको बताएका छन् ।

ओलीले आफ्नो रिहाइको लागि आवाज उठाउने सबै र सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरू, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु । साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु ।’

प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा खटेका त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि ओलीले कृतज्ञता व्यक्त गरेका छन् ।

ओलीले आफ्नो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएकाको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने माग गर्दै अन्यथा पार्टीले उपचार खर्च व्यहोर्ने जानकारी पनि गराएका छन् । प्रतिकूल स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहेर उपचार गराउने उनले जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ