यातायात कार्यालयमा सेवाग्राहीलाई प्रलोभन देखाएर रकम असुल्ने प्रयास गर्ने व्यक्ति नियन्त्रणमा

Thankot Times

थानकोट ।

रौतहटको गौरस्थित यातायात व्यवस्था कार्यालय परिसरभित्र सेवाग्राहीलाई लक्षित गरी अवैध रूपमा रकम असुल्ने प्रयास गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका-३ मा रहेको यातायात कार्यालय परिसरमा सेवाग्राहीका कागजात लिएर विभिन्न फाँटमा पुग्ने, छिटो सेवा उपलब्ध गराइदिने भन्दै झन्झट सिर्जना गर्ने तथा सवारी चालक अनुमतिपत्र बनाइदिने बहानामा प्रलोभन देखाउँदै वार्तालाप गरिरहेको अवस्थामा उनलाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा गौर नगरपालिका–५ दोस्तिया टोल निवासी करिब ४० वर्षीय लक्ष्मी कुमार केशरी रहेका छन्। उनीमाथि सेवाग्राहीलाई ठगी गर्ने प्रयास गरेको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले यस्ता गतिविधिप्रति सचेत रहन सेवाग्राहीलाई आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल सूचना दिन अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *