श्रम संस्कृति पार्टी प्रवेश गर्दै सुदन किराँती

Thankot Times

थानकोट ।

सुदन किराँती श्रम संस्कृति पार्टी प्रवेश गर्ने भएका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषदबाट राजीनामा दिएका किराँती आफ्नो समूहसहित बिहीबार श्रम संस्कृति पार्टी प्रवेश गर्न लागेका हुन्।

त्यसका लागि काठमाडौंको हार्दिक होटलमा कार्यक्रम राखिएको श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले जानकारी दिए।

सुदन श्रम संस्कृतिको वरिष्ठ नेता बन्नेछन्।

उनको समूहले एक सचिवसहित १५ केन्द्रीय सदस्य पाउने मोटामोटी सहमति जुटेको श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले जानकारी दिए।

‘वरिष्ठ नेता ल्याउनुपर्छ भनेर हामीले पनि पहल गर्‍यौं। उहाँ त्यसमा मान्नुभयो,’ उनले भने।

महासचिव राईले पनि एक भएर देश बनाउने अभियानमा समाहित हुने भन्ने समझदारी भएको बताए।

‘सैद्धान्तिक रूपमा हामी एक भएर जाने र देश बनाउने एउटा नयाँ अभियानमा समाहित हुने भन्ने समझदारी भयो। उहाँलाई वरिष्ठ नेता स्वीकार्‍यौं। अरू सैद्धान्तिक खाका चाहीँ विस्तृत बनेपछि जानकारी दिन्छौं,’ उनले भने।

चुनावपछि किराँती श्रम संस्कृतिसँग लगातार छलफलमा थिए।

त्यसअघि तत्कालीन नेकपा (माओवादी केन्द्र)मा रहेका उनी विभिन्न घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि त्यसमा अनुसन्तुष्टि जनाउँदै जनार्दन शर्मासँगै पार्टीबाट बाहिरिएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *