संविधान संशोधनका लागि ४४ हजार बढी सुझाव, के–के छन् मुख्य विषय ?
थानकोट ।
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार ६ सय १३ सुझाव प्राप्त गरेको छ ।
कार्यदलको सचिवालयले जेठ ८ गते सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो ।
कार्यदलका सदस्यसचिव लीलाधर सुवेदीले १९ हजार २ सय ३९ इमेलमार्फत र २५ हजार ३ सय ७४ सुझाव सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत प्राप्त भएका बताए ।
कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको उनको भनाइ छ ।
कार्यकारी राष्ट्रपति, सङ्घीयताको पुनरावलोकन, संवैधानिक निकायको पुनःसंरचना र पुनरावलोकन, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति, जनप्रतिनिधिको योग्यता तोक्नुपर्नेलगायत विषयमा नागरिकबाट सुझाव प्राप्त भएका सदस्यसचिव सुवेदीले जानकारी दिए ।
प्राप्त सुझावहरू कार्यदलले अध्ययन गरिरहेको छ ।












