चोरीको पाँचवटा मोटरसाइकलसहित काठमाडाैंबाट तीनजना पक्राउ
थानकोट ।
प्रहरीले चोरीका पाँचवटा मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला रौतहट, राजदेवी नगरपालिका घर भइ हाल काठमाडौंको मैतीदेवी बस्ने २६ वर्षीय दिनेश कुसुहवा, मकवानपुर, वाग्मती गाउँपालिका–३ घर भइ हाल काठमाडौंको सिफल बस्ने २० वर्षीय नवराज माझी तथा गोरखा, गण्डकी गाउँपालिका–५ घर भइ हाल काठमाडौं तारकेश्वर नगरपालिका–५ लोलाङ्ङ बस्ने २२ वर्षीय अमृत पुर्जा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
उनले भने, “बा ७५ प ६८२४ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल, बा ७६ प १५०२ नम्बरको स्कुटर, वाग्मती प्रदेश ०२–०६३ प १६४१ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल, लु ४६ प ५०५२ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल, वाग्मती प्रदेश ०२–०६२ प ३३८४ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको हो ।”
पक्राउ परेकाहरूमाथि प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












