नेपालका ‘नेल्सन मण्डेला’ वामपन्थी नेता मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ पुस्तक सार्वजनिक हुँदै
थानकोट।
राजनीतिक स्वतन्त्रताका लागि १७ वर्ष कठोर जेल जीवन व्यतीत गरेका वरिष्ठ स्वतन्त्रता सेनानी एवं वामपन्थी नेता मोहनचन्द्र अधिकारीको जीवन र सङ्घर्षमा आधारित पुस्तक ‘जगेडा जिन्दगी’ सार्वजनिक हुने भएको छ ।
मोहनचन्द्र अधिकारी फाउन्डेसनको आयोजनामा पुस्तकको लोकार्पण समारोह आयोजना गर्न लागिएको हो। लोकार्पण कार्यक्रम आज शनिबार दिउँसो २ बजे चन्द्रागिरि नगरपालिका स्थित सतुङ्गलमा हुने फाउन्डेसनले जनाएको छ।फाउन्डेसनका अनुसार उक्त पुस्तकमा अधिकारीको जीवनयात्रा, राजनीतिक सङ्घर्ष, लामो जेल जीवनका अनुभव र उनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको विशिष्ट योगदानलाई समेटिएको छ।
नेपालका ‘नेल्सन मण्डेला’ उपनामले चिनिने अधिकारी नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धाका रूपमा चिनिन्छन्।
पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षका क्रममा २०३० सालमा रौतहटबाट पक्राउ परेका अधिकारी १७ वर्ष जेल सजाय भोगेका थिए। उgको त्याग र बलिदानबारे नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले यो पुस्तक तयार पारिएको आयोजकले बताएको छ।
उक्त कार्यक्रममा उपस्थितिका लागि विभिन्न क्षेत्रका व्यक्तित्वहरू, सञ्चारकर्मी तथा शुभेच्छुकहरूमा फाउन्डेसनले हार्दिक अनुरोध गरेको छ।













