ढुङ्गाअड्डाबाट ठूलो परिमाणमा लागूऔषध बरामद, दुईजना पक्राउ

Thankot Times

थानकोट ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गाअड्डाबाट सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको टोलीले कीर्तिपुर नगरपालिका–९ पाँगादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट घर भई हाल नैकाप बस्ने सुमित्रा राईलाई साउन ३ गते नियन्त्रणमा लिएको हो।

अनिल देउलाले लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा गरिएको कारबाहीमा ५० बक्समा राखिएको १५ हजार क्याप्सुल ट्रामाडोल बरामद गरिएको प्रहरीले जनाएको छ।

साथै, उनले प्रयोग गरिरहेको बा ७७ प ७८०० नम्बरको स्कुटर समेत नियन्त्रणमा लिइएको छ।

त्यसपछि देउला बस्दै आएको कोठामा खानतलासी गर्दा १ हजार १८८ वटा डाइजेपाम तथा फेनेरागन ट्याब्लेट, ३ हजार ७७० वटा ट्रामाडोल र १५० वटा पोलेन बरामद भएको प्रहरीले जनाएको छ।

उक्त कोठाबाट १ लाख ३९ हजार १६५ रुपैयाँ नगद र ३ थान मोबाइल सेट समेत बरामद गरिएको छ। सोही क्रममा सुमित्रा राईलाई पनि नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा रहेका दुवै जनालाई बरामद लागूऔषध, नगद, स्कुटर तथा मोबाइलसहित आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *