बिहानै दुर्घटनाको खबर, तीनथानामा स्कुटर र ट्रक ठोक्किए, चन्द्रागिरिका पुरुषको ज्यान गयो

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका–१५ स्थित तीनथाना चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

आज बिहान करिब ३ बजे सतुंगलबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशामा चलिरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक चन्द्रागिरि नगरपालिका–१२ निवासी ४० वर्षीय दीपक नेपाल गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि ललितपुरस्थित बी एण्ड बी अस्पताल, ग्वार्को लगिएको भए पनि बिहान करिब ४ बजे चिकित्सकले मृत घोषणा गरेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

स्कुटरको पछाडि सवार ५६ वर्षीया सुभद्रा कुमारी नेपाल घाइते भएकी छन्। उनको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्था सम्बन्धी थप विवरण सार्वजनिक गरिएको छैन।

प्रहरीले दुर्घटनामा संलग्न मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ