२०औं एसियाली खेलकुदः नेपालका १३६ जना खेलाडीले विभिन्न २२ खेलमा प्रतिस्पर्धा गर्ने
थानकोट ।
२० औँ एसियन गेम्समा नेपालबाट १३६ खेलाडीले २२ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
आउँदो सेप्टेम्बर १९ देखि अक्टोबर ४ अर्थात असोज ३ गतेदेखि असोज १८ गतेसम्म जापानको आइची–नागोयामा आयोजना हुने गेम्समा नेपालबाट १३६ खेलाडीले २२ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगिताका लागि खेलाडी र प्रशिक्षकको अन्तिम सूची सार्वजनिक गर्दै १३६ खेलाडी र ३२ प्रशिक्षक गरी कुल १६८ सदस्यीय नेपाली टोली जापान जाने जनाएको छ ।
समूहगत खेलतर्फ नेपालले कबड्डी, महिला भलिबल र पुरुष क्रिकेटमा मात्र सहभागिता जनाउनेछ भने बाँकी १९ खेल व्यक्तिगत विधाका रहेका छन् ।
खेलाडी संख्याका आधारमा पुरुष र महिला गरी २४ खेलाडी रहेको कबड्डी टोली सबैभन्दा ठूलो रहेको छ । पुरुष क्रिकेटमा १५ र महिला भलिबलमा १२ खेलाडी सहभागी हुनेछन् ।
यसअघि २३ खेलमा झण्डै १४० खेलाडी सहभागी गराउने तयारी भए पनि अन्तिम सूचीमा २२ खेल मात्र समावेश भएका हुन् । व्यक्तिगत खेलतर्फ उसुमा सबैभन्दा बढी ११ खेलाडी सहभागी हुनेछन् भने डान्स स्पोर्टमा एक जना खेलाडी मात्र प्रतिस्पर्धामा रहनेछन् ।
यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियन गेम्समा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका थिए । यो संस्करणमा कराँतेकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी थिइन् भने महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । नेपालले एसियन गेम्समा हालसम्म स्वर्ण पदक जित्न सकेको छैन ।










