पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चांग निर्णायक विकास समितिको आह्वान

Thankot Times

थानकोट ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो (पञ्चांग) प्रकाशन गर्न चाहने पञ्चांगकारलाई आगामी असोज २० गतेभित्र पात्रो गणनाको गणित पेस गर्न आह्वान गरेको छ ।

समितिले पञ्चांगखण्ड सौरोक्तपद्धतिबाट र अन्य ग्रहहरूको गणना केतकीय पद्धतिबाट गर्न सूचित गरिएको अध्यक्ष सह प्रा डा. पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिए ।

असोज २० गतेभित्र सबै विषयवस्तु समावेश गरिएको पञ्चांग पेस गर्न अनुरोध गरिएको पनि उहाँले सुनाए । विसं २०८३ को पात्रोसमेत यही पद्धतिबाट स्वीकृति दिइएको छ ।

नयाँ पञ्चांगकारहरूले हातले लेखेको तीन वर्ष अर्थात् २०८४ देखि २०८६ सम्मको गणितको मस्यौदा पेस गर्नुपर्ने समितिले जारी गरेको सूचनामा उल्लेख छ । नयाँ पञ्चांगकारले पञ्चांगगणनाको सबै आधार तथा विषयवस्तुको खेस्रा पनि समितिमा बुझाउनुपर्ने निर्णय समितिले गरेको अध्यक्ष भट्टराईले बताए ।

“म्याद नाघी पेस भएका, अंग नपुगेका र समितिले अंगीकार नगरेका सिद्धान्तबाट गणना गरिएका पञ्चांगहरूलाई स्वीकृति प्रदान गरिने छैन, भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गर्न चाहने संस्था वा व्यक्तिले पनि समितिको स्वीकृति लिएर मात्र प्रकाशन गर्नुहुन समितिले अनुरोध गरेको छ”, उनले भने ।

समितिले निर्णय गरेका चाडपर्व, जात्रालगायतका विवरणहरू फरक पर्न गई भ्रम पर्न जाने अवस्था देखिएमा प्रकाशित पञ्चांग तथा भित्ते पात्रोलाई नियमअनुसार आवश्यक कारबाहीसमेत हुने पनि समितिले सूचनामार्फत जानकारी गराएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ