भोटेकोशी बाढी : ४ हजार १३७ जनाको हवाई उद्धार, ८ हजार ७ सयभन्दा बढी सैनिक परिचालन

Thankot Times

थानकोट ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, राहत तथा उपचार कार्यलाई तीव्र बनाएको छ।

भाद्र २६ गते साँझ ५ः३० बजेसम्म नेपाली सेनाले हवाई साधनमार्फत थप ३० जनाको उद्धार गरेको छ। यससँगै हालसम्म हवाई माध्यमबाट उद्धार हुनेको संख्या ४ हजार १३७ पुगेको छ, जसमा ३ हजार ८ सय ५४ नेपाली र २ सय ८३ विदेशी नागरिक छन्।

बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका टनेलमा समेत खोज तथा उद्धार कार्य जारी छ। रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ। लाङटाङ हाइड्रोमा नेपाली सेनाको टोली टनेलभित्र खोजीमा जुटेको छ।

त्यस्तै, चिलिमे हाइड्रो क्षेत्रमा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले टनेलभित्र जमेको लेदो हटाउने काम गरिरहेको छ। भारी उपकरण लैजान आवश्यक बाटो निर्माणसमेत सम्पन्न भएपछि खोजी कार्य थप तीव्र पारिएको सेनाले जनाएको छ।

माथिल्लो त्रिशूली–१ को हाकुबेशीस्थित अडिट–१ टनेलमा सेनाको टोलीले करिब २०० मिटर आसपासको क्षेत्रमा ड्रोनमार्फत रेकी गरी खोजी गरिरहेको छ। हालसम्म त्यहाँबाट कुनै वस्तु फेला परेको छैन। त्रिशूली–३ ए को पावरहाउस तथा टनेल क्षेत्रमा र त्रिशूली–३ बी मा पनि संयुक्त टोलीबाट खोजी कार्य भइरहेको छ।

प्रभावित बस्तीमा पैदल खोजी

रसुवा र नुवाकोटका त्रिशूलीपारिका कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङलगायत विभिन्न क्षेत्रमा सुरक्षाकर्मीले पैदल गस्तीमार्फत खोजी कार्य जारी राखेका छन्।

स्याफ्रुबेसी होल्डिङ सेन्टरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट आज ५४ जना प्रभावितले स्वास्थ्य सेवा लिएका छन्। यसैगरी, नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलमार्फत आज थप ८५ जनाले उपचार सेवा पाएका छन्। हालसम्म यी स्वास्थ्य सेवाबाट ३ हजार ६ सय ६५ जना लाभान्वित भएका छन्।

८ हजार ७ सयभन्दा बढी सैनिक मैदानमा

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ।

उनीहरूले घाइते तथा बेपत्ताको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।

सेनाको खोज तथा उद्धार अभियान अब हवाई उद्धारसँगै जलविद्युत् आयोजनाका टनेल, नदी किनार र दुर्गम बस्तीमा केन्द्रित गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ