प्रदेश अधिवेशनमा जुट्यो राप्रपा
थानकोट ।
मंसिरमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने टुंगो लगाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला र प्रदेश अधिवेशनको चटारोमा छ ।
मंसिरको २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने गरी महाधिवेशनको मिति घोषणा गरेको राप्रपाले हालसम्म ७२ जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ ।
भदौ मसान्तसम्म जिल्ला अधिवेशन सक्ने तालिका राप्रपाले बनाएको छ ।
हालैको भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई अधिवेशनको तालिकामा विशेष सुविधा दिएको राप्रपाले ती जिल्लाहरूलाई असोज १५ भित्र अधिवेशन गर्न समय प्रदान गरेको छ ।
यसैगरी राप्रपाले भदौ मसान्तसम्म अधिवेशन गर्न बाँकी रहेको जुम्ला र धनकुटालाई समेत सोही समयभित्र अधिवेशन गर्न मौका दिएको छ ।
स्थानीय तह र जिल्ला तहको अधिवेशनपछि राप्रपा सबै प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । राप्रपाले सातवटै प्रदेशको अधिवेशन एकैदिन असोज २१ गते गर्ने मिति तय गरेको छ ।
केन्द्रीय निर्वाचन समितिले एकैदिन प्रदेश अधिवेशन गर्ने तयारी गरेको छ । त्यसका निम्ति सातवटै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि खटाएको छ ।
राप्रपामा केन्द्रीय महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यहरूमध्येबाट छनोट गर्ने प्रावधान रहेको छ । समानुपातिक समावेशीताका आधारमा छनोट हुने जनाइएको छ ।
राप्रपाले असोज १५ गतेसम्म सक्रिय सदस्यताको आवेदन दिने र फाराम प्रविष्ट गर्ने समय निर्धारण गरेको छ । देशैभर सक्रिय सदस्यताको विवरण फाराम भर्ने काम धमाधम भइरहेको राप्रपाले जनाएको छ ।














