चन्द्रागिरिसहित देशभर बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
थानकोट ।
सरकारले आज (कात्तिक १७) र भोलि (१८ गते) देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य सेवा विभागका अनुसार अभियानअन्तर्गत ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १२ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
यस अभियानबाट करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ। देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन हुने कार्यक्रममा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन्।
यसअघि कात्तिक २ र ३ गते सञ्चालन गर्ने तय भएको कार्यक्रम दसैँको सार्वजनिक बिदाका कारण सारिएको हो।
भिटामिन ‘ए’ ले बालबालिकामा यसको कमीबाट हुने समस्या तथा आँखासम्बन्धी जोखिम घटाउन मद्दत गर्छ भने जुकाको औषधिले आन्द्रामा हुने जुका सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुर्याउँछ।
स्वास्थ्य सेवा विभागले आफ्ना बालबालिकालाई नजिकैको तोकिएको वितरण केन्द्रमा लगेर अनिवार्य रूपमा औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।











