नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: आज जनकपुर र विराटनगर, लुम्बिनी र पोखराबीच खेल हुँदै
थानकोट ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदै छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच खेल हुँदै छ । विराटनगर र जनकपुरबीचको खेल मध्याह्न १२:३० बजे र लुम्बनी र पोखराबीचको खेल बेलुकी ५ बजे हुनेछ ।
तीन खेलमा दुई जित निकालेको जनकपुर अंक तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमा हार व्यहोरेको जनकपुरले आफ्ना पछिल्ला दुई खेलमा राम्रो प्रदर्शन गरेको छ । भारतीयमूलका अमेरिकन खेलाडी हर्मित सिंहको कप्तानीमा रहेको जनकपुर आफ्नो विजयी यात्रालाई निरन्तरता दिँदै प्लेअफको बाटो सहज बनाउने योजनामा छ ।
यता, विराटनगर पनि कमजोर छैन । वेस्ट इन्डिजका विश्वचर्चित खेलाडी आन्द्रे रसेललगायत अनुवभी विदेशी खेलाडीसहितको विराटनगरले सुरुका दुई खेल राम्रो खेल्दाखेल्दै नतिजा गुमाएको थियो । भने तेस्रो खेलमा सुदूरपश्चिम रोयल्समाथि ५ ओभरको प्रतिस्पर्धामा सनसनीपूर्ण जित निकालेको थियो । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगरमाथि जितको यात्रालाई कायम राख्नुपर्ने चुनौती छ । अघिल्ला दुई खेलमा हारेको विराटनगरका लागि अबका खेल महत्त्वपूर्ण छन् ।
आज पोखरासँग प्रतिस्पर्धा गर्न लागेको लुम्बिनीले पहिलो खेलमा जित हासिल गरेको थियो भने वर्षाका कारण दोस्रो खेलमा अंक बाँडेको थियो । पहिलो खेलमै बलियो मानिएको सुदूरपश्चिममाथि सानदार जित दर्ता गरेको लुम्बिनीलाई एनपीएलको सन्तुलित टोली भनेर चर्चा गरिन्छ । तर, लुम्बिनीको वास्तविक परीक्षा भने आज हुनेछ । रोहित पौडेलको कप्तानीमा रहेको साविक विजेता लुम्बिनी आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा छ ।
यता, पोखरा एभेन्जर्स भने दबाबमा छ । एनपीएलमा अहिलेसम्म समूह चरण पार गर्न नसकेको पोखराले अघिल्ला दुई खेल हारेकोले आजको खेल महत्त्वपूर्ण छ । आजको खेलको नतिजा आफ्नो पक्षमा पार्न नसके पोखरालाई योपटक पनि प्लेअप कठिन बन्ने देखिन्छ । त्यसैले कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा मैदान उत्रिनेछ ।











