सिट बाँडफाँड : प्रतिनिधिसभामा लगभग सहमति जुट्यो, अब प्रदेश सभामा छलफल
थानकोट ।
मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदल प्रदेशसभा केन्द्रित सिट बाँडफाँडको छलफलमा केन्द्रित भएको छ।
प्रतिनिधिसभा तर्फको सिट बाँडफाँड लगभग टुंगो लागेपछि कार्यदल प्रदेशसभातर्फ केन्द्रित भएको हो। सोमबारदेखि प्रदेशसभातर्फको बाँडफाँडमा छलफल प्रारम्भ भएको छ।
मंगलबार बिहान बालुवाटारमा बस्ने कार्यदलको बैठकमा प्रदेशसभा तर्फको सिट बाँडफाँडमा केन्द्रित भएर छलफल हुने कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए। उनका अनुसार प्रतिनिधिसभातर्फ अधिकांश सिटमा सहमति जुटिसकेको छ।
८० देखि ८५ कांग्रेसलाई, ४५ देखि ४७ माओवादीलाई, १५ देखि १७ एकीकृत समाजवादी र जनता समाजवादीलाई तथा दुई सिट राष्ट्रिय जनमोर्चालाई दिने तय भएको छ, थाहाखबरमा समाचार छ ।
कतिपय निर्वाचन क्षेत्रमा सहमति नजुटेकाले अन्तिम टुंगो लागि नसकेको र शीर्ष नेताहरूको एक बसाइको छलफलले टुंगो लाग्ने कार्यदल एक सदस्यले जानकारी दिए। प्रदेशसभा तर्फ रहेका ३३० सिटमा संघको बाँडफाँडकै अनुपातलाई आधार बनाएर छलफल प्रारम्भ भएको बताइएको छ।










