माओवादी केन्द्रको चुनावी घोषणापत्रः थानकोट-साँगा खण्डमा मेट्रो रेल
थानकोट ।
सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सोमबार एकैदिन घोषणापत्र सार्वजनिक गरेका छन् । चुनावपछि पार्टी एकता गर्ने गरी संयुक्त घोषणापत्र ल्याउने गृहकार्य असफल भएपछि हिजो बेग्लाबेग्लै घोषणापत्र ल्याएका हुन् ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको घोषणापत्रमा रेलमार्ग निर्माणलाई समेटेको छ । घोषणापत्रमा भनिएको छ, ‘पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणको कार्यलाई समयमै सम्पन्न गरिनेछ । वीरगञ्ज–काठमाडौं, रसुवागढी-काठमाडौं, पोखरा-लुम्बिनी विद्युतीय रेलमार्ग निर्माणको कामलाई प्राथमिकताता दिइनेछ ।’
काठमाडौं उपत्यकाको बागमती, विष्णुमती, धोबीखोला र मनोहरा कोरिडोरमा मोनोरेल, चक्रपथ वरिपरि र बुढानिलकण्ठ-सानेपा तथा थानकोट-साँगा खण्डमा मेट्रो रेल परियोजना अघि बढाइने घोषणा माओवादीले गरेको छ ।
पोखरा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्जलगायत मुख्य शहरहरूमा मेट्रो र मनोरेल, ट्रलीबसलगायत आधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने कामको योजनाबद्ध रूपमा थालनी गरिने उल्लेख गरिएको छ । कोशी, गण्डकी, कर्णालीलगायतका प्रमुख नदी प्रणालीमा जलमार्गको विकासका निम्ति आवश्यक योजना निर्माण गरी कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जाहेर गरिएको छ ।













