काठमाडौंमा तापक्रम र प्रदूषण बढ्याे

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यकामा साविकभन्दा आइतबार गर्मी महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार (हिजो) काठमाडौंको अधिकतम तापक्रम २३.५ डिग्री सेल्सियस थियो । यो फेब्रुअरीका १८ दिनको काठमाडौंको औसत तापक्रम २२.१ डिग्री सेल्सियस रहेको मौसमविद् बिनु महर्जनले जानकारी दिइन् । उनका अनुसार अबका दिनहरूमा तापक्रम बढ्दै जानेछ ।

तापक्रम बढेसँगै काठमाडौंको वायु प्रदूषित बनेको छ । आईक्यू एयरका अनुसार आइतबार दिउँसो ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वायुको गुणस्तर सूचकांक (एक्यूआई) १४० पुगेको छ । ललितपुरको भैँसेपाटी क्षेत्रको १५९ छ । त्यो शनिबार १६९ सम्म पुगेको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक्यूआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ । एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई एकीकृतस्वरूपमा बुझाउँछ ।

एक्यूआई जति बढ्दै गयो त्यति घातक मानिन्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ । १०० भन्दा माथि एक्यूआई भएको वायु विशेष समूहका लागि घातक मानिन्छ । त्यस्तो समूहमा छातीको समस्या भएका, वृद्धवृद्धा, मुटुसम्बन्धी रोग भएका तथा बालबालिका पर्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *