दोहोरो सवारीसाधन गुड्ने सडकमा रहेका पार्किङ हटाउँदै काठमाडौं महानगर
थानकोट ।
काठमाडौं महानगरपालिकाले दोहोरो सवारीसाधन चल्ने सबै सडकबाट पार्किङ हटाउने भएको छ । महानगरले बागबजारबाट सुरु गरेको यो अभियानलाई सबै स्थानमा लागू गर्न लागेको हो ।
ट्राफिक व्यवस्थापनमा देखिएको समस्या कम गर्न, दुर्घटनाको जोखिम न्यूनीकरणका लागि महानगरले यो अभियानलाई निरन्तरता दिन लागेको जनाएको छ । महानगरका अनुसार अबदेखि महानगरभित्रका दोहोरो सवारीसाधन चल्ने सबै सडकका पार्किङ हटाइनेछ । ‘सडक भनेको सवारी गुड्नका लागि हो । त्यसैले दोहोरो सवारी गुड्ने सबै ठाउँका पार्किङ हटाउन थालेका हौँ,’ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने ।
महानगरले दरबारमार्ग, कालीमाटी, कलंकी, कुलेश्वर, चाबहिल, बौद्ध, माछापोखरीलगायत ठाउँको पार्किङ हटाइसकेको छ । पार्किङ हटाएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी पटक–पटक आन्दोलित भएका थिए । दरबारमार्ग क्षेत्रका व्यवसायी अझै पनि विरोधमै छन् । बागबजार क्षेत्रको पार्किङ पुरानो बसपार्कस्थित सिटी मार्केटमाको भुइँतलामा निःशुल्क व्यवस्था गरिएको छ । दरबारमार्ग आउनेका लागि विश्वज्योति हलको पार्किङ प्रयोग गर्न भनिएको छ । जुन पार्किङ सःशुल्क हो, नयाँ पत्रिकामा खबर छ ।













