बाँडभञ्ज्याङमा वर्षमान पुनले भने- ‘गणतन्त्रको विकल्पमा राजतन्त्रको वकालत गर्नु गलत’
थानकोट ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना-मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु कुनै पनि अर्थमा जायज नहुने बताएका छन्।
‘नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरूको विकल्प अझ राम्रो पार्टी हुन सक्छ तर गणतन्त्रको विकल्पमा राजतन्त्र हुन सक्दैन।’ उनले भने।
माओवादी केन्द्रको चन्द्रागिरि नगरपालिका-२ मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राजतन्त्रको अन्त्य र संविधान जारी गरेसँगै जनवादी क्रान्ति पूरा भयो तर जनताको अवस्थामा सुधार आएको छैन। जनताको जीवनस्तर सुधार गरेर जानुपर्छ । हामी त्यसमा लागिपरेका छौँ।’
गणतन्त्र प्राप्तिपछि देशमा सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता, सामाजिक न्यायजस्ता विषय स्थापित गरेको तर आर्थिक समृद्धिको काम अझै बाँकी रहेको उनको कथन छ।
आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्दै उनले अन्य सरकार र अन्य नेताले गर्न नसकेको सामाजिक सुरक्षा, सुशासन, राष्ट्रियता र समृद्धिका पक्षमा राम्रा काम भएको सुनाए।
‘अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, समृद्धिका क्षेत्रमा राम्रो काम गर्नुभएकाे छ’, उनले भने, ‘मध्यपहाडी राजमार्ग माओवादीले बनाएको हो। तर त्यसलाई पनि एमालेले दाबी गरिरहेको छ। नौवटा लोकमार्ग बनाउने कुरा हाम्रो घोषणापत्रमा उल्लेख भएको छ। बाटो चौडा पार्ने, लोडसेडिङ हटाउने काम माओवादीले गरेको हो।’
पूर्वमन्त्री पुनले आफ्नो पार्टी भ्रष्टाचार, कालोबजारीविरुद्ध निर्ममरूपमा प्रस्तुत भएको समेत उल्लेख गरे। ‘यही पुस १० गते अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको एक वर्ष पुग्दैछ। आफ्नो सचिवालय, मन्त्री, सल्लाहकार फेर्छु तर पछि हट्दिनँ, देश र जनताको पक्षमा काम गर्छु भन्नुभएको छ। परिणाम निकाल्छु भन्नुभएको छ। पार्टीले उहाँलाई साथ दिएको छ’, सम्मेलनका सहभागीलाई प्रशिक्षण दिँदै नेता पुनले भने।
चन्द्रागिरि–२ माओवादी जनप्रतिनिधिले स्थानीय चुनावमा जितेको वडा हो। माओवादीको रुपान्तरण अभियानको उद्घाटनका क्रममा अध्यक्ष दाहाल सोही वडामा पुगेर कार्यक्रमको उद्घाटन गरेका थिए।
विगतको कमजोरी सुधार गर्दै माओवादीहरू एक हुने बाटोमा अघि बढिरहेको नेता पुनले बताए। विगतका गल्ती महसुस गरेर माओवादी धारहरूको एकताका लागि प्रयास भइरहेको उनको भनाइ छ। सम्मेलनले सुरेन्द्र तामाङको अध्यक्षतामा माओवादीको २९ सदस्यीय समिति गठन गरेको छ।












