बागमती प्रदेशमा १३ मन्त्रालय १२ मन्त्री, नवनियुक्त मन्त्री आले मगरले पाउने मन्त्रालय बारे अन्योल
थानकोट ।
सत्ता गठबन्धनमा रहेका प्रमुख दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच बागमती प्रदेशमा मन्त्रालय भागबण्डाको विषयमा विवाद सुरु भएको छ ।
विवाद मिलाउन मंगलबार दिउँसो मुख्यमन्त्री शालिकराम जम्कट्टेल, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र एकीकृत समाजवादी संसदीय दलका नेता कृष्ण खनालबीच छलफल चलिरहेको छ ।
छलफलमा एमालेले आजै मन्त्रालयको टुंगो लगाएर मन्त्रिपरिषद्लाई पूर्णता दिन दबाब दिएको छ ।
तर, मन्त्रालयको संख्या बागमतीमा १२ वटा भएको तर एमालेलाई ४ वटा मन्त्रालय दिँदा संख्या १३ पुग्ने भएकाले अब के गर्ने भन्नेबारे छलफल केन्द्रित छ ।
एमालेले ३ जनाको नाम सिफारिस गरेकोमा मुख्यमन्त्रीले ३ जनाको मात्रै नाम दिन आग्रह गरेका बताइएको छ । तर, एमालेले ४ वटैमा अडान राखेको तथा माओवादी र समाजवादीले पनि मन्त्री फिर्ता बोलाउन नसक्ने बताएकाले समाधानको उपाय खोज्ने काम भइरहेको छ ।
एमालेका चारै जनालाई शपथ गराउने र अन्य मन्त्रीलाई पनि ब्याक नगराइने हो भने एउटा मन्त्रालय फुटाउनुपर्ने बाध्यता रहेको छ ।











