रास्वपाले चीन भ्रमणमा गएका १४ नेतालाई फिर्ता बोलायो

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चीन भ्रमणमा गएका आफ्ना नेताहरुलाई फिर्ता बोलाएको छ।

गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेपछि रास्वपाको केन्द्रीय पार्टी कार्यालयमा भएको छलफलले चीन भ्रमणबाट नेताहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

रास्वपाका ती नेताहरु चिनियाँ कम्युनिस्ट पार्टीको अन्तरराष्ट्रिय विभागको औपचारिक निम्तोमा १० दिने भ्रमणमा चीन गएका थिए।

पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपाको १४ जनाको टोली हिजो (शनिवार) मध्यरात चीन भ्रमणका लागि उडेको थियो।

“नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुनसक्ने सम्भावना देखिएकाले तत्काल फर्किन लागेका हौँ‚” भ्रमण टोलीको नेतृत्व गरेका डा. वाग्लेले बताए।

टोलीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *