ढुङ्गाअड्डा नजिकै व्यापारीको दानमा पार्टी भवन बनाउने निर्णयको नेकपा एमालेभित्रै विरोध

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१५ ढुङ्गा अड्डा नजिकै कीर्तिपुर मैत्रीनगरमा भाटभटेनी स्टोरका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गामा पार्टीको केन्द्रीय कार्यालय बनाउन लागेकोमा नेकपा एमालेभित्रै विरोध सुरू भएको छ।

एमाले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेले व्यवसायीबाट दान लिनुलाई साढे पाँच लाख पार्टी सदस्यको शिर झुकाउने कदम भएको बताएकी छन् । व्यापारीबाट जग्गा लिने र उनैले पार्टी कार्यालय भवन बनाइदिनुले एमालेका कार्यकर्ता र मतदाताको अपमान भएको उनले बताएकी हुन् ।

पाण्डेले व्यापारीको पैसामा भवन बनाउने कदमले पाँच लाख पार्टी सदस्य र २८ लाख जना मतदाताको अपमान भएकोले यो गलत निर्णय तत्काल सच्चाउन आग्रह पनि गरेकी छन् ।

व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको विन्दा पाण्डेले फेसबुकमा उल्लेख गरेकी छन् ।

‘दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा, जानकारीसमेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती साबित हुनेछ ।’ पाण्डेले भनेकी छन् ।

मनमोहन अधिकारी र मदन भण्डारीहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पङ्क्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्ने विन्दा पाण्डेको माग छ ।

विवादमा परेका व्यापारीको प्रत्यक्ष लगानी र सहयोगमा पार्टी मुख्यालय बनाउने कार्यप्रति एमालेका अरु नेताहरुले पनि असन्तुष्टी जनाएका छन् ।

भाटभटेनी सुपर मार्केटका प्रमुख मीनबहादुर गुरुङले कीर्तिपुरमा १० रोपनी भन्दा धेरै जग्गा दान दिएर एमालेको केन्द्रीय कार्यालय बनाइदिँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओली र गुरुङले केही दिनअघि भवनको शिलान्यास समेत गरिसकेका छन् ।

मीनबहादुर गुरुङले आउँदो वर्षको घटस्थापनाको दिनसम्म भव्य भवन तयार पारेर एमालेलाई दिने वाचा गरेका छन् ।

कीर्तिपुरमा नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास (फोटो फिचर)


Leave a Reply

Your email address will not be published. Required fields are marked *