क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै
थानकोट ।
क्यारेबियन मुलुक वेष्ट इण्डिजका क्रिकेटर ब्रायन लारा आज शुक्रबार नेपाल आउँदै छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले बिहीबार विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजका महान क्रिकेटर लारा शुक्रबार बिहान नेपाल आउने जानकारी दिएका हुन् ।
लारा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् ।
वेस्ट इन्डिजका क्रिकेट लिजेन्ड लारा नेपाल आउने जानकारी क्यानका सचिव पारस खड्काले गत मंगलबार सामाजिक सञ्जालमार्फत दिएका थिए ।
५५ वर्षीय लाराले टेस्ट र एकदिवसीय क्रिकेटमा १० हजारभन्दा बढी रन बनाएका छन् ।
टेस्ट क्रिकेटमा एकै पालिमा अविजित ४ सय रन बनाउने कीर्तिमान लाराकै नाममा छ । यो कीर्तिमान अझै कायम छ ।














