नेपाल प्रिमियर लिग क्रिकेटः लुम्बिनी लायन्स कर्णाली याक्ससँग ५ रनले स्तब्ध
थानकोट ।
काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबार सम्पन्न दिनको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ ।
खेलमा लुम्बिनी पाँच रनले पराजित भएको हो ।
पराजयसँगै लुम्बिनीले प्रतियोगिताका ७ खेलमा १ जित र ६ हारको नतिजासहित आफ्नो यात्रा टुंग्याएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १२९ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो ।
जितसँगै कर्णालीले भने आफ्नो प्लेअफ सम्भावनालाई बलियो बनाएको छ । ६ खेलबाट आठ अंक जोडेको कर्णाली तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
कर्णालीका जिसान मक्सुदले दुई विकेट लिए । कप्तान सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र विलियम बोसिस्टोको नाममा समान एक विकेट रह्यो ।
त्यसअघि, टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२८ रनको योगफल खडा गरेको थियो ।
कर्णालीबाट विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । उनले ३० बलमा तीन चौका र तीन छक्का प्रहार गरे । अर्जुन घर्तीले २५ बलमा दुई चौका र एक छक्कासहित २५ रन बनाए ।
लुम्बिनीका विकाश अग्रीले तीन विकेट लिए । दुई ओभर बलिङ गरेका अग्रीले १४ रनमात्र खर्चिए । तिलक भण्डारीले दुई विकेट लिए । यस्तै, रेमोन सिमोन्ड्स, साद बिन जफर र रोहितकुमार पौडेलले समान एक विकेट लिए ।
हारपछि लुम्बिनीले सात खेलबाट दुई अंक जोड्दै प्रतियोगिताको अन्त्य गरेको छ ।














