सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल: जनसेवा र सैनिक आवासीय क्वाटरफाइनलमा
थानकोट ।
जनसेवा मावि र र सैनिक आवासीय महाविद्यालय कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेका छन् ।
मंगलबार सम्पन्न प्रि-क्वाटरफाइनल खेलमा जनसेवा माविले डिएभी स्कुललाई ३-१ तथा सैनिक आवासीय महाविद्यालयले पुष्प सदन बोर्डिङ्ग स्कुललाई ७-० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम ८ मा स्थान सुरक्षित गर्न सफल भएका हुन् ।
डीएभी स्कुल विरुद्ध जनसेवालाई विजयी गराउन मिलन सहकारी, अर्जुन धामी र केभिन दुलालले समान १-१ गोल गरेका थिए भने डीएभी स्कुलको तर्फबाट हिमालयजंग बस्नेतले सान्त्वना गोल गरे ।
मिलन सहकारी यस खेलमा उत्कृष्ठ खेलाडी चुनिए ।
यस्तै दिनको दोश्रो तथा अन्तिम खेलमा सैनिक आवासीय महाविद्यालय सल्लाघारी, भक्तपुरले कीर्तिपुरको पुष्प सदन बोर्डिङ्ग स्कुलको चुनाैती ७-० ले पन्छायो ।
एकतर्फी बनेको खेलमा सैनिक आवासीय महाविद्यालयका तर्फबाट अभिराज महतले ह्याट्रिक गर्दा, इशान तामाङले २ गोल एवं समिर खड्का र अनन्त थापाले समान १-१ गोल गरेका थिए । यस खेलमा ह्याट्रिक गरेका महत म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत बुधबार नेपाल एपीएफ स्कुल कीर्तिपुरको ए टीमले धापाखेलको जेम्स स्कुलको सामना गर्नेछ ।
प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट १ र बाँकेको नेपाल एपीएफ कोहलपुरबाट १ गरि जम्मा १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
अघिल्लो आइतबारबाट सुरु भएको प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको विजयी टिमले ६० हजार नगद प्राप्त गर्नेछ। दोस्रोले २० हजार रुपैयाँ पाउने छ भने तेस्रो टिमले १० हजार नगद प्राप्त गर्नेछ।













