विश्वकप विजेता इटालीयन स्टार बुफोन आज काठमाडौं आइपुग्ने
थानकोट ।
फिफा विश्वकप विजेता इटालीका लिजेन्ड गोलकिपर जियानलुइजी बुफोन आज काठमाडौं आइपुग्ने भएका छन् ।
उनी तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलका लागि नेपाल आउन लागेका हुन् ।
शुक्रबार भिडियो सन्देश दिँदै उनले आफू नेपाल आउन लागेको जानकारी दिएका थिए । ‘नमस्ते सबै जनालाई म जिजी बुफोन, केपी ओली कपको फाइनलमा चिफ गेष्टका रूपमा मार्चको पहिलो हप्ता म नेपाल आउँदै छु । सबै जनालाई त्यही भेटौँला,’ उनले भनेका छन् ।
बुफोन केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा सहभागी हुन आज बिहान नेपाल आइपुग्ने तालिका रहेको आयोजक युवा संघ नेपालका सचिव निरोज पौडेलले जानकारी दिए ।
तेस्रो संस्करणको केपी ओली कपको फाइनल भोलि सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदै छ ।












