स्वदेश फर्कियो नेपाली क्रिकेट टिम
थानकोट ।
थाइल्यान्डमा भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटबाट ग्लोबल क्वालिफायरमा छनोट भएको नेपाली टिम स्वदेश फर्किएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपाली टिम बुधबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो ।
नेपाली टिमलाई क्यानका सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामासँगै अन्य पदाधिकारीले विमानस्थलमा स्वागत गरे ।
नेपाली टिमले प्रतियोगिताको सुपर–३ मा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पाँच विकेटको जित निकाल्दै ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो ।
सुपर–३ को अन्तिम खेलमा भने नेपाली टिम थाइल्यान्डसँग ७८ रनले पराजित भएको थियो । त्यसअघि, समूह चरणका चार खेलमध्ये नेपालले दुई खेलमा जित निकालेको थियो ।
यस्तै, एक खेलमा पराजित हुँदा एक खेल भने रद्द भएको थियो ।













