दक्षिण अफ्रिकी पूर्व क्रिकेटर निक पोथस नेपाली क्रिकेट टिमको कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त
थानकोट ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको कन्सल्ट्यान्ट प्रशिक्षकमा निक पोथस नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार सामाजिक सञ्जालमार्फत पोथसलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो ।
५२ वर्षीय पोथस दक्षिण अफ्रिकाका पूर्वविकेटकिपर ब्याटर हुन् । यसअघि क्यानले नेपाली टिमको मुख्य प्रशिक्षकमा स्टुवर्ड ललाई नियुक्त गरेको थियो ।
नेपाली टिम हाल आईसीसी विश्वकप क्रिकेट लिग–२ का निम्ति इंग्ल्यान्डमा तयारी गरिरहेको छ ।
नेपालले जुन २ देखि सुरु हुने त्रिदेशीय लिगमा नेदरल्यान्ड्स र स्कटल्यान्डविरुद्ध खेल्ने तालिका छ ।
नेपालले जुन २ मा स्कटल्यान्डसँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ ।
लिग–२ मा खराब प्रदर्शनबाट गुज्रिरहेको नेपाल तालिकाको पुछारमा छ ।
नेपालले प्रतियोगिताका १२ खेल खेल्दा ६ अंकमात्रै जोडेको छ ।
यता, तालिकाको दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले २० खेल खेल्दा २६ र तालिकाको चौथो स्थानमा रहेको स्कटल्यान्डले १६ खेल खेल्दा २० अंक जोडेको छ ।












