आईसीसी विश्वकप क्रिकेट लिग-२ः करण चम्किएपछि स्कटल्याण्डमाथि नेपालको अविश्वसनीय जित

Thankot Times

थानकोट ।

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित निकालेको छ । सोमबार भएको खेलमा स्कटल्यान्डविरुद्ध एक विकेटको जित निकालेको हो ।

स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा करणले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिमले प्रस्तुत गरेको २९७ रनको लक्ष्य नेपालले ४९.५ ओभरमा नौ विकेट गुमाएर पूरा गर्‍यो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले भेट्टाएको यो हालसम्मकै ठूलो लक्ष्य हो ।

यसअघि नेपालले सन् २०२३ मा नामिबियाविरुद्ध र २०२४ मा क्यानडाविरुद्ध समान २८६ रनको लक्ष्य पूरा गरेको थियो ।

नेपालको जितमा नवौँ नम्बरमा ब्याटिङका निम्ति आएका करण केसीले सर्वाधिक ६५ रन बनाए ।

करणले अविजित रहँदा ४१ बलमा तीन चौका र चार छक्का प्रहार गरे ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा करणको यो पहिलो अर्धशतकसमेत हो ।

नेपाललाई अन्तिम ओभरमा सात रन आवश्यक हुँदा पहिलो बलमै सन्दीप लामिछाने आउट भएका थिए ।

अन्तिम ओभर बलिङका निम्ति आएका मार्क वाटले सन्दीपलाई जर्ज मुन्सीबाट क्याच गराएका थिए । ११औँ नम्बरमा ब्याटिङमा आएका रिजन ढकालले पहिलो बल खेल्ने प्रयास गरे पनि वाइट भयो । दोस्रो बल डट हुँदा तेस्रो बलमा रिजनले एक रन लिएपछि करण स्ट्राइकमा आएका थिए । त्यसपछिका दुई बलमा लगातार समान दुई रन लिँदा नेपाललाई जितका निम्ति अन्तिम बलमा एक रनको आवश्यकता थियो । वाटले अन्तिम बल वाइट फ्याक्दा नेपाली टिमले एक रनको रोमाञ्चक जित निकालेको हो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको घरेलु टिमले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २९६ रनको योगफल खडा गरेको थियो ।

नेपालका करण केसी, रिजन ढकाल र सोमपाल कामीले दुई–दुई विकेट लिए । १० ओभर बलिङ गर्दा करणले एक मेडनसहित ४३ रन खर्चिए । यस्तै, सन्दीप लामिछानेले एक विकेट लिए ।

यो जितसँगै नेपाल तालिकाको सातौँ स्थानमा उक्लिएको छ । नेपालले प्रतियोगिताको १३ खेलबाट आठ अंक जोडेको छ ।

नेपाली टिमले नवनियुक्त प्रशिक्षक स्टुअर्ट लको आगमनपछि नेपालको यो पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल हो ।

तालिकाको चौथो स्थानमा रहेको स्कटल्यान्डले भने १७ खेलबाट २० अंक जोडेको छ । 

यस्तो छ लिग-२ को पछिल्लो अंकतालिकाः


Leave a Reply

Your email address will not be published. Required fields are marked *