पशुपति क्षेत्र विकास कोषका लागि चन्द्रागिरि सहकारीद्वारा सहायता सामाग्री हस्तान्तरण
थानकोट ।
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई सहायता सामाग्री हस्तान्तरण गरेको छ ।
बिहीबार संस्थाका प्रतिनिधिहरूले पशुपति दर्शनार्थीहरुको सहजताका लागि झोला हस्तान्तरण गरेका हुन् ।
दर्शनार्थीहरूले पशुपतिनाथ क्षेत्र भित्र पस्नुअघि जुत्ता चप्पल खोलेर राख्ने प्रयोजनका लागि ती झोला उपयोग हुनेछन् ।
पशुपति विकास कोषका कोषाध्यक्ष नारायण प्रसाद सुवेदीलाई उक्त सहायता सामाग्री हस्तान्तरण गरिएको चन्द्रागिरि साकोसद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सो क्रममा राष्ट्रिय सभा सदस्यहरु जयन्ती देवी राई, गरिमा शाह र पशुपति विकास कोषका सदस्य सचिव सुभाष चन्द्र जोशीको लगायतको उपस्थिति रहेको संस्थाले जनाएको छ ।
करिब २२ हजार जना सेयर सदस्य आवद्ध भएको चन्द्रागिरि सहकारीको संस्थागत पूँजी कोषमा २१ करोड रहेको र ऋण लगानी २ अर्ब ३० करोड रहेको छ ।
संस्थाले थानकोट चेकपोष्टस्थित मुख्यालयका अतिरिक्त काठमाडाैं उपत्यकाका विभिन्न स्थान सदस्य सेवा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ ।
तस्बिरः चन्द्रागिरि साकोस












