चन्द्रागिरि नगर अन्तर विद्यालय हाजिरी जवाफमा विद्याश्री पहिलो
थानकोट ।
चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा माध्यमिक तह (कक्षा ९ र १० ) स्तरीय हाजिरीजवाफ प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
भाद्र १३ र १४ गते दुई दिनसम्म डिजिटल माध्यमबाट सञ्चालन गरिएको प्रतियोगितामा नगरक्षेत्रका ३७ वटा विद्यालयले सहभागिता जनाएका थिए।
प्रारम्भिक चरणमा सहभागी विद्यालयहरूलाई चार समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो।
तीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने आठ विद्यालय अन्तिम चरणमा प्रवेश गरेका थिए।
जसमा विद्याश्री एकेडेमी प्रथम बन्यो, माउन्ट चन्द्रागिरि र हाई न्यू भिजन विद्यालय समान द्वितीय स्थानमा रहँदा माउन्ट सगरमाथा ब्रिलियन्ट विद्यालय र विष्णुदेवी शिक्षा सदन मा.वि. ले क्रमशः तृतीय र सान्त्वना स्थान प्राप्त गरे ।
विजयी विद्यार्थीलाई शिक्षा दिवसका दिन (असोज २ मा) आयोजना हुने समारोहमा नगद र प्रमाणपत्रसहित मेडल ट्रफीले सम्मान गरिने चन्द्रागिरि नगरपालिका शिक्षा, युवा तथा खेलकुदा शाखा प्रमुख सुजनराज खनालले जानकारी दिए ।
मातातिर्थस्थित ब्राइट होराइजन चिल्ड्रेन्स होम एकेडेमीमा सम्पन्न प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठसहित नगर कार्यपालिकाका जनप्रतिनिधिहरू, वडाध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको नगरको शिक्षा शाखाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सो प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान अभिवृद्धि गर्नुका साथै प्रतिस्पर्धात्मक भावना, अनुशासन र आपसी सहकार्यलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
चन्द्रागिरि नगरपालिकाले निरन्तर रुपमा विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ।












