चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह सम्पन्न
थानकोट ।
मुलुकमै पहिलोपटक रिसर्च युनिभर्सिटीको अवधारणामा स्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एम्बस्ट)ले पहिलो ब्याचका तीन विद्यार्थीलाई दीक्षित गरेको छ ।
मकवानपुरको चित्लाङस्थित आफ्नै शैक्षिक परिसरमा विश्वविद्यालयले आइतबार (माघ २५) आयोजना गरेको पहिलो दीक्षान्त समारोहमा धनकृष्ण आचार्य, सवनम सुवेदी र सुशील राई दीक्षित भएका हुन् ।
समारोहमा विश्वविख्यात शिक्षाविद् एवं उच्च शिक्षाका विज्ञ डा. जमिल साल्मी प्रमुख अतिथिका रूपमा सहभागी थिए । साल्मीले असम्भव केही पनि नरहेको भन्दै छोटो समयमा विद्यार्थीले ठूलो उपलब्धि प्राप्त गरेको बताए । तर, विद्यार्थीले उपलब्ध सीप सही स्थानमा प्रयोग गर्नुपर्ने चुनौती रहेको उनको भनाइ थियो ।
साल्मीसँग चिली र अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयमा चार दशक प्राध्यापन गरेको अनुभव छ । यस्तै, समारोहमा क्यानडाको म्याकगिल विश्वविद्यालयकी पूर्वउपकुलपति प्रा. सुजन फोर्टियर र न्यानो प्रविधिका विश्वप्रसिद्ध वैज्ञानिक प्रा. सीराम रामकृष्ण समेत सहभागी थिए ।
२०७९ मा ऐन जारी भई सञ्चालनमा आएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय परम्परागत शिक्षणभन्दा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित छ ।
हाल विश्वविद्यालयले जैविक कृषि, कृत्रिम बौद्धिकता, तथ्यांक विज्ञान र दिगो पूर्वाधार जस्ता विषयमा स्नातकोत्तर र विद्यावारिधि तहमा ६६ विद्यार्थी अनुसन्धानरत छन् ।
















