राष्ट्रिय सभाका नयाँ सदस्यको शपथ फागनु २१ गतेको निर्वाचनपछि

थानकोट ।

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ प्रतिनिधि सभा सदस्य निर्वाचनपछि मात्रै हुने भएको छ । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन फागुन २१ गते हुँदै छ । सोही मितिदेखि राष्ट्रिय सभाका नवनिर्वाचित १८ सदस्यको कार्यकालसमेत सुरु हुने छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नवनिर्वाचित सदस्यको शपथ प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि मात्रै हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “१९ जना सदस्यको कार्यकाल फागुन २० गते सकिने छ । नवनिर्वाचित सदस्यको कार्यकाल फागुन २१ गतेदेखि सुरु हुने छ तर सोही दिन निर्वाचनको मिति जुधेकाले निर्वाचनपछि मात्रै शपथग्रहण हुने तयारी छ ।”

नवनिर्वाचित सदस्यको शपथ फागुन २१ गतेपछि हुने भए पनि कार्यकाल फागुन २१ देखि नै गणना हुने छ । प्रवक्ता गिरीले भन्नुभयो, “फागुन अन्तिम साता शपथ हुने छ । संसद्को अर्को अधिवेशन आह्वान भएपछि शपथग्रहण गरेका सदस्यहरूले औपचारिक रूपमा कार्यभार समाल्नु हुने छ ।”

अधिवेशन आह्वान हुनुअघि सदस्यको व्यक्तिगत विवरण अद्यावधिक गर्नेलगायतका काम हुने छन् । राष्ट्रिय सभाका उपाध्यक्षसहित कार्यकाल सकिएका १८ सदस्यमध्ये तीन जना विषयगत समितिका सभापति पनि हुनुहुन्छ । राष्ट्रिय सभामा थप दुई जना सदस्यको पद रिक्त छ । राष्ट्रपतिबाट मनोनीत हुने एक र नेपाली कांग्रेसबाट निर्वाचित सभाका सदस्य बलदेव बोहोराको निधनपछि दुई पद रिक्त छन् ।

उपाध्यक्ष र समिति सभापति रिक्त हुने

सभाका उपाध्यक्ष विमला घिमिरेको यसै फागुन २० गते कार्यकाल सकिने हुँदा उपाध्यक्ष पद पनि रिक्त हुने छ । त्यसै गरी राष्ट्रिय सभा अन्तर्गतका तीन वटा विषयगत समितिका सभापतिको समेत कार्यकाल सकिँदै छ । यसरी सभाका उपाध्यक्षसहित तीन वटा विषयगत समितिको सभापतिको निर्वाचन गर्नुपर्ने छ । अधिवेशन चालु रहेको अवस्थामा पद रिक्त भएको १५ दिनभित्र उपाध्यक्षको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रिय सभा नियमावलीको नियम ८ (क) मा अध्यक्ष वा उपाध्यक्षको पद रिक्त भएमा पद रिक्त हुँदाका बखत अधिवेशन चलिरहेको भएमा पद रिक्त भएको मितिले १५ दिनभित्र र अधिवेशन नचलेको भएमा त्यसपछि अधिवेशन सुरु भएको मितिले १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

अधिवेशन नचलेको अवस्थामा उपाध्यक्ष पद रिक्त हुने छ । तसर्थ प्रतिनिधि सभाको निर्वाचनपछि आह्वान हुने सङ्घीय संसद्को दुवै सदनको अधिवेशन सुरु भएपछि मात्रै उपाध्यक्ष पदको निर्वाचन हुने छ । प्रवक्ता गिरीले अधिवेशन सुरु भएको १५ दिनभित्र उपाध्यक्ष पदका लागि निर्वाचन हुने बताउनुभयो ।

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहाल, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्मा र विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमलादेवी पन्तको कार्यकाल सकिँदै छ । प्रवक्ता गिरीले नियमावलीको व्यवस्थाबमोजिम तीन वटै विषयगत समितिको सभापतिको निर्वाचनसमेत अधिवेशन सुरु भएपछि हुने जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *