आजबाट कक्षा १२ को परीक्षा सुरु हुँदै, ४५ दिनभित्र परीक्षाफल प्रकाशित हुने
थानकोट ।
माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आज (सोमबार)देखि सुरु हुँदै छ।
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै छन्।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १ सय ७८ र आंशिकतर्फ ८५ हजार ८ सय ३० जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन्।
यस वर्ष २०७९ यताका विद्यार्थीले आंशिक परीक्षा दिने बोर्डले जनाएको छ। यस्तै, जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थीले पनि आज कक्षा १२ को परीक्षा दिँदैछन्।
परीक्षाका लागि देशभर १ हजार ४२१ वटा परीक्षा केन्द्र तोकिएको छ। यही वैशाख २७ गते परीक्षा सकिने समय तालिका छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म जारी रहनेछ ।
बोर्डले ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न कार्ययोजना तयार गरेको छ ।










