८ विश्वविद्यालयका उपकुलपति पदका लागि १८९ आवेदन स्वीकृत, २९ अयोग्य ठहर

Thankot Times

थानकोट ।

देशका आठ वटा विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि प्राप्त आवेदनमध्ये अधिकांश आवेदन स्वीकृत भएका छन् भने केही आवेदन प्रारम्भिक छानबिनमा अस्वीकृत भएका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार कुल २१८ आवेदनमध्ये १८९ आवेदन योग्य ठहर गरी स्वीकृत गरिएको छ भने २९ आवेदन आवश्यक मापदण्ड पूरा नगरेको कारणले अयोग्य ठहर गरिएको हो।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार त्रिभुवन विश्वविद्यालयका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि ३८-३८, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९, मध्यपश्चिम विश्वविद्यालयका लागि २०, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ तथा राजर्षि जनक विश्वविद्यालयका लागि २७ आवेदन परेको थियो।

स्वीकृत भएका १८९ उम्मेदवारमध्येबाट अब आगामी चरणमा सर्टलिस्ट तयार गरी सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।

अध्यादेशमार्फत यसअघि विश्वविद्यालयका उपकुलपतिहरू पदमुक्त भएपछि रिक्त पदपूर्तिका लागि नयाँ छनोट प्रक्रिया अघि बढाइएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *