साउने सोमबारको साँझ चन्द्रागिरि हिल्समा विशेष आरती हुने, ४२५ रुपैयाँमै केबलकारको टिकट

Thankot Times

थानकोट ।

चन्द्रागिरि डाँडास्थित भालेश्वर महादेव क्षेत्रमा साउन महिनाको हरेक सोमबार साँझ हुने आरतीमा सहभागी हुने चाहनेहरूलाई चन्द्रागिरि केबलकारको टिकटमा विशेष छुट हुने भएको छ ।

काठमाडाैं उपत्यकाको पहिलो केबलकार सेवा चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले साउने सोमबारको साँझ हुने आरती दर्शन गर्न केबलकार टिकटमा विशेष छुट उपलब्ध गराउने निर्णय गरेको हो ।

जसअनुसार साउन महिनाको प्रत्येक सोमबार साँझ ४ बजेपछिको केबलकारको टिकट ४ सय २५ रुपैयाँमै उपलब्ध हुनेछ ।

हाल केबलकारको दुईतर्फी टिकट मूल्य साधारणतर्फ ८५० रुपैयाँ रहेको छ ।

साथै, साउन महिनाभरका सोमबारका लागि चन्द्रागिरि डाँडा पुग्ने पर्यटक तथा सेवाग्राहीलाई केबलकारको टिकटमा  ५० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।

महादेवको महिनाका रूपमा मानिने साउन महिनाको प्रत्येक सोमबार साँझ चन्द्रागिरि मन्दिरमा आरतीको विशेष कार्यक्रम आयोजना हुँदैछ ।

चन्द्रागिरि डाँडामा सतीदेवीको भाल पतन भएको विश्वास गरिन्छ ।

धार्मिक विश्वास अनुसार दक्ष प्रजापतिकी छोरी सतीदेवी अर्थात् पार्वतीको पहिलो अवतार रहेकी उनी आफ्नै पिताको यज्ञमा फाल हानेर मृत्युवरण गरेकी थिइन् ।

सतीदेवीको मृत्युबाट दुखी बनेका भगवान् शिवले उनको शव बोकेर ताण्डव गर्न थालेपछि सृष्टिमा संकट ल्याएको भन्दै भगवान विष्णुले सुदर्शन चक्रको प्रयोग गरी सतीदेवीको अंगहरु काटी विभिन्न भागमा पतन गराएको विश्वास गरिन्छ ।

शरीरका ५१ अंग पतन गराउँदा चन्द्रागिरि डाँडा अर्थात् भालेश्वर मन्दिर रहेको स्थानमा भाल अर्थात् निधारभन्दा माथिको कपाल आउने भाग पतन भएको विश्वास गरिन्छ ।

पछिल्लो समय चन्द्रागिरि केबलकार हुँदै चन्द्रागिरि डाँडासम्म पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरूको संख्या दिनहुँ बढ्दो छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *