कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा रकम हिनामिना प्रकरणः २ जना न्यायिक हिरासतमा
थानकोट ।
विशेष अदालतले सशस्त्र प्रहरी स्कुल, कीर्तिपुरका लेखा अधिकृत कल्पना गुरुङ र एमडी एडभेञ्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लीलाबहादुर लामा तामाङलाई १० दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले आज उक्त आदेश दिएको हो ।
सोही आदेशबमोजिम उनीहरूलाई न्यायिक हिरासतमा पठाइएको विशेष अदालतले जनाएको छ ।
एपीएफ स्कुलको आर्थिक अपचलनसम्बन्धी विषयमा अनुसन्धानका क्रममा सशस्त्र प्रहरी निरीक्षक गुरुङ र व्यवसायी लामा तामाङलाई गत असार २० गते प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको पत्रअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र १७ ले निषेध गरेको भ्रष्टाचारसम्बन्धी कसुरको अनुसन्धानका लागि उनीहरूलाई यही साउन ८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरिएको थियो ।










