जापान पठाइदिने भन्दै ठगी गर्ने चेकपोष्टका एकजना पुरुष पक्राउ

Thankot Times

थानकोट ।

वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गंगा बहादुर कटुवाल र हेम बहादुर बोम्जन रहेका छन्।

प्रहरीका अनुसार कटुवालले जापान पठाइदिने भन्दै एक जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ लिएका थिए।

रकम लिएपछि उनी पीडितको सम्पर्कमा नआएपछि उजुरी परेको थियो।

त्यस्तै, बोम्जनले पनि जापान पठाइदिने प्रलोभन देखाएर एक जना पीडितबाट १ लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको उजुरी परेको प्रहरीले जनाएको छ।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले कटुवाललाई काठमाडौं महानगरपालिका–१२ र बोम्जनलाई काठमाडौं महानगरपालिका–२८ बाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका मध्ये एक जना थानकोट चेकपोष्ट बस्दै आएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *