२०औं एसियाली खेलकुदः नेपालको खातामा पहिलो पदक, करातेका तेन्जिङले दिलाए खुसी
थानकोट ।
नेपालले जापानको आइची-नागोयमा जारी एसियाली खेलकुदको पाँचौँ दिनमा आएर पदकको खाता खोलेको छ ।
बुधबार नेपालले कांस्यपदक जितेको हो ।
नेपालका निम्ति एसियाली खेलकुदमा तेक्वान्दो र बक्सिङपछि सबैभन्दा सफल खेल हो, कराते ।
त्यसैले यो खेलबाट पदकको आशा हुनु स्वाभाविक नै हो ।
तर, पदकको आशा गरिएका खेलाडीले एकपछि अर्को निराशाजनक प्रदर्शन गरे । पुरुष कुमिते ८४ केजीमाथिको तौल समूहमा भने तेन्जिङ शेर्पाले कांस्य जितेर करातेलाई मात्र नभई नेपाललाई पनि पदकविहीन हुनबाट जोगाए ।
तेन्जिङ देशका निम्ति पदक जित्न पाउँदा खुसी लागेको बताउँछन् । “देशका लागि मेडल ल्याउन पाउँदा खुसी लागेको छ । यसअघि (यसपटक नेपाली खेलाडी) कसैले पदक जित्न सकेको थिएन, मेरो सफलताले सबैलाई खुसी दिएको छ,” उनले भने, “जसरी पनि पदक ल्याउनुपर्छ भन्ने थियो । एसियाली खेलकुदमा पदक जित्ने सपना पूरा भएको छ ।”
नेपालका एरिका गुरुङ (महिला ६८ केजीमाथि), मीनबहादुर तामाङ (पुरुष ६० केजीमुनि) र राकेश मानन्धर (पुरुष ५५ केजीमुनि) यसअघि पदकनजिक पुगेर पनि निराश बनेका थिए । उनीहरूले कांस्यका निम्ति भएको खेल गुमाएका थिए ।
यस्तै, महिला ६८ केजीमुनिमा निरुपा दोङ तामाङ क्वार्टरफाइनलमा सीमित बनेकी थिइन् ।
टिम कातामा कांस्यका निम्ति भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग निराश बन्यो । सानुमाया थिङ, एलिसा रासकोटीमगर र मेघा लिम्बूले टिम कातामा नेपालको प्रतिनिधित्व गरेका थिए ।
एकल कातामा सानुमायको यात्रा पहिलो चरण (अन्तिम–१६)बाट अगाडि बढ्न सकेन ।
एसियाली खेलकुदमा करातेबाट नेपाललाई पाँचौँ पदक
तेन्जिङ करातेबाट एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने पाँचौँ खेलाडी हुन् । सन् १९९४ मा जापानकै हिरोसिमामा आयोजित एसियाली खेलकुदमा सीता राईले करातेबाट नेपालका निम्ति पहिलो पदक (कांस्य) जितेकी थिइन् ।
१९९८ मा थाइल्यान्डको बैंककमा आयोजित एसियाली खेलकुदमा समरबहादुर गोले नेपालको खातामा अर्को कांस्य थपे । त्यसपछि भने नेपालले करातेबाट पदक जित्न लामो समय कुर्नुपर्यो ।
२०१४ मा दक्षिण कोरियाको इन्चोनमा आयोजित एसियाली खेलकुदमा विमला तामाङले नेपालका निम्ति कांस्यपदक जितेकी थिइन् । २०२३ मा चीनको हाङचाउमा आयोजित एसियाली खेलकुदमा एरिका गुरुङले रजतपदक जितिन् । एसियाली खेलकुदमा नेपाली कराते खेलाडीले हासिल गरेको हालसम्म यो नै सबैभन्दा ठूलो सफलता हो ।
नेपाली राष्ट्रिय कराते टोलीका नियमित सदस्य तेन्जिङले गत वर्ष श्रीलंकामा आयोजित १०औँ साफ कराते च्याम्पियन्सिपमा ८४ केजीमाथिमै स्वर्णपदक जितेका थिए ।
तेन्जिङको पदक यात्रा
एसियाली खेलकुदमा तेन्जिङको कांस्यपदक यात्रा निकै रोमाञ्चक रह्यो । क्वार्टरफाइनलमा हान्सोकुबाट अघि बढेका उनले सेमिफाइनलमा पराजय व्यहोरे । तर, कांस्यका निम्ति भएको भिडन्तमा उत्कृष्ट प्रदर्शनका साथ पदक पक्का गरे ।
बुधबार टोयाहासी जिम्नेसियममा भएको क्वार्टरफाइनलमा तेन्जिङले मकाओका लिओङ अन टेकसँग प्रतिस्पर्धा गरेका थिए । लियोङले चौथो चेतावनी पाएपछि स्वतः अयोग्य घोषित हुँदा तेन्जिङ सेमिफाइनलमा पुगेका थिए ।
विश्व कराते महासंघ (डब्ल्यूकेएफ)का अनुसार, चुकोकु, केइकोकु र हान्सोकु चुई गरी चेतावनीका तीन तह हुन्छन् । चौथोपटकको सजाय (हान्सोकु) पनि पाउने खेलाडीलाई अयोग्य ठहर गरिन्छ । अयोग्य घोषित हुनुअघि लिओङ १–० ले अगाडि थिए ।
सेमिफाइनलमा तेन्जिङको भेट इरानी खेलाडी महमुद नेमातीसँग भयो । उनी अंकका आधारमा ५–० ले पराजित भए ।
सेमिफाइनल गुमाए पनि तेन्जिङसामु पदकका निम्ति अर्को मौका थियो । कांस्यका निम्ति उनले रेपिचेज खेलमा लाओसका जायासन वात्थानाको सामना गरे । उक्त खेलमा ९–१ को सहज जित निकाल्दै उनले कांस्यपदक चुमे














