अत्यावश्यक कामबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय धादिङको अनुरोध

Thankot Times

थानकोट ।

जिल्ला प्रशासन कार्यालय धादिङले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

असोज ९ देखि ११ गतेसम्म वाग्मती प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले यात्रा गर्नै परे अतिरिक्त कपडा, खानेकुरा, पानी, प्राथमिक उपचारसँग सम्बन्धित आधारभूत औषधि समेत बोक्न भनेको छ ।

उक्त अवधिमा भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव तथा डुबान हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन कार्यालयले अनुरोध गरेको छ ।

कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा यात्राको क्रममा बाढीपहिरो तथा सडक अवरोध भएमा सुरक्षित स्थानमा आश्रय लिन भनेको छ ।

यात्रा गर्नुपूर्व वा यात्राको क्रममा केही समस्या परेमा वा सूचना आवश्यक परेमा सुरक्षा निकायमा सम्पर्क गर्न समेत कार्यालयले सुझाएको छ ।

“अकस्मात बाढी आउन सक्ने नदी, खोला, खहरे खोला नजिकका बस्ती, पहिरो जोखिमयुक्त स्थान र खोला/नदी किनार नजिकका बासिन्दाहरू वर्षादको समयमा बढी चनाखो भई सुरक्षित स्थानमा स्थानीय तह र सुरक्षा निकायहरूसँग समन्वय गरी बस्नुहुन,” विज्ञप्तिमा भनिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *