ढुङ्गाअड्डामा किरा परेको कच्चा पदार्थबाट गुँदपाक र पुष्टकारी उत्पादन, सामान जफत
थानकोट ।
चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा म्याद नाघेका तथा किरा परेका विभिन्न कच्चा पदार्थ प्रयोग गरी गुँदपाक र पुष्टकारी उत्पादन तथा बिक्री वितरण गर्ने गरेको फेला परेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौंले मंंगलबार राति गरेको अनुगमनका क्रममा श्री कृष्ण पुष्टकारी तथा गुँदपाक भण्डारले म्याद नाघेको चिउरा, म्याद नाघेको चकलेट, खुला टुक्रा बिस्कुट, किरा परेको भुटेको चना तथा चनाको पिठो, स्किम मिल्क पाउडर, चामलको पिठो, किरा परेको बदाम, ओट्सलगायतका कच्चा पदार्थ प्रयोग गरी गुँदपाक तथा पुष्टकारी बनाउने गरेको पाइएको हो ।
विभागका महानिर्देशक संजिवकुमार कर्णका अनुसार अनुगमनका क्रममा म्याद नाघेको चकलेटलगायत खाद्य वस्तुमा पुनः लेबल विवरण राखेर प्याकेजिङ गरी बिक्री वितरण गर्ने गरेको समेत फेला परेको छ । उद्योगले खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट आवश्यक अनुमतिपत्रसमेत नलिएको अनुगमनको क्रममा फेला परेको छ । अनुगमन मंगलबार राति साढे ९ बजेसम्म भएको थियो ।गुँदपाक तथा पुष्टकारीको लेबलमा खुवा, चिनी, दूध, नरिवल, छोकडा, काजु, बदाम, तरबुजलगायतका सामग्रीको मिश्रण हुने उल्लेख गरिएको भए पनि उत्पादन स्थलमा चिनीबाहेक तीमध्ये अधिकांश खाद्य पदार्थ फेला नपरेको महानिर्देशक कर्णले जानकारी दिए ।
अनुगमनका क्रममा म्याद नाघेका तथा किरा परेका चिउरा १८ किलो, चकलेट २१० किलो, खुला टुक्रा बिस्कुट १०० किलो, किरा परेको भुटेको चना २२० किलो, चनाको पिठो २७४ किलो, स्किम मिल्क पाउडर ७ किलो तथा चामलको पिठो प्रयोग गरी तयार गरिएको करिब १०० किलो गुँदपाक र ५३५ किलो पुष्टकारी फेला परेको थियो । तीमध्ये करिब २ लाख ६० हजार रुपैयाँ बराबरका तयारी खाद्य पदार्थ जफत गरी नष्ट गरिएको कर्णले जानकारी दिए ।
विभागका अनुसार थप अनुसन्धानका लागि गुँदपाक तथा पुष्टकारीको नमुना संकलन गरिएको छ । उद्योगबाट हुने सम्पूर्ण उत्पादन तथा बिक्री वितरण रोक्का गरी उद्योग सिलबन्दी गरिएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम आवश्यक कारबाही अघि बढाइएको विभागले जनाएको छ ।
अनुमतिपत्रबिनै पुष्टकारी उत्पादन
सोही क्षेत्रको बज्रबाराही भण्डारमा समेत खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लंघन भएको पाइएको छ । चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा रहेको उक्त उद्योगको सरसफाइ सन्तोषजनक नरहेको तथा एउटै कोठामा खाद्य पदार्थ प्रशोधन र प्याकेजिङ गर्ने गरेको अनुगमनका क्रममा भेटिएको हो ।
उद्योगको उत्पादन स्थलमा खाद्य पदार्थको लेबलमा मिश्रणका रूपमा उल्लेख नगरिएका चिउरा र मैदालगायतका कच्चा पदार्थ फेला परेका थिए । उद्योगले खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमतिपत्रसमेत नलिएको पाइएको विभागले जनाएको छ ।
अनुमतिपत्र नलिई उत्पादन गरिएका तथा शंकास्पद कच्चा पदार्थ प्रयोग गरी तयार पारिएका करिब ३५० किलो पुष्टकारी जफत गरी नष्ट गरिएको छ । यसको मूल्य करिब १ लाख ४० हजार रुपैयाँ रहेको विभागले जनाएको छ । थप अनुसन्धानका लागि गुँदपाक तथा पुष्टकारीको नमुना संकलन गरी उद्योगको सम्पूर्ण उत्पादन तथा बिक्री वितरण रोक्का राखिएको छ । उद्योग सिलबन्दी गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही अघि बढाइएको विभागले जनाएको छ ।
सस्तो बास्केटमा म्याद गुज्रिएका खाद्य वस्तु
खाद्य पदार्थको सम्भावित पुनःप्याकेजिङ गरी नक्कली मिति कोड तथा लेबल राखेर बिक्री वितरण गरेको भन्ने उजुरीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र डिभिजन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका–१५ स्वयम्भुस्थित श्री सस्तो बास्केट पसलमा समेत अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा पसलमा खाद्य पदार्थ अव्यवस्थित रूपमा भण्डारण गरिएको तथा अनुमतिबिना खाद्यान्न, दलहन, चिनी लगायतका खाद्य पदार्थ खुद्रा प्याकिङ गरी बिक्री वितरण गर्ने गरेको पाइएको विभागले जनाएको छ । बिक्री स्थलमा करिब १४ किलो सुजी, ५ किलो ब्रेडक्रम्ब, १० किलो थाइम र १ किलो राजमा म्याद नाघेको अवस्थामा भेटिएको थियो ।
म्याद नाघेका ती खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ । साथै अनुमतिपत्र नलिएका उद्योगबाट उत्पादित खाद्य पदार्थ बिक्री वितरण नगर्न पसललाई निर्देशन दिइएको छ । म्याद नाघेका खाद्य पदार्थलाई छुट्टै ‘एक्सपायर्ड जोन’ बनाएर अलग्गै भण्डारण गर्न पनि निर्देशन दिइएको विभागले जनाएको छ ।
थप अनुसन्धानका लागि पसल सञ्चालकलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । घटनामा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही अघि बढाइएको विभागले जनाएको छ ।














