असोज २५ गतेदेखि कलंकीसहित काठमाडाैंका यी ६ स्थानबाट ग्यास बिक्री र सिलिन्डर साट्न पाइने
थानकोट ।
चाडपर्वको समयमा खाना पकाउने ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न काठमाडौं उपत्यकाका ६ स्थानबाट आइतबारदेखि एलपी ग्यास बिक्री तथा सिलिन्डर साटफेर गरिने भएको छ।
नेपाल एलपी ग्यास उद्योग संघले असोज २५ गते आइतबारदेखि असोज ३१ गते शनिबारसम्म विशेष बिक्री तथा साटफेरको व्यवस्था गरेको हो। संघका अनुसार उपभोक्ताले हरेक दिन बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म तोकिएका केन्द्रबाट सेवा लिन सक्नेछन्।
नेपाल आयल निगम र ग्यास विक्रेता महासंघसँगको समन्वयमा व्यवस्था गरिएको यो सेवाबाट चाडपर्वका बेला ग्यास नपाएको तथा एउटा ब्रान्डको सिलिन्डर अर्को ब्रान्डसँग साट्न नपाएको गुनासो सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
संघले काठमाडौं, ललितपुर र उपत्यकाका विभिन्न क्षेत्रमा रहेका ६ केन्द्रबाट फरक–फरक ब्रान्डका ग्यास बिक्री तथा साटफेर गर्ने व्यवस्था मिलाएको छ।
१. सिफलचौर, काठमाडौं
ग्यास एन्ड अक्सिजन ट्रेडर्स
उपलब्ध ब्रान्ड : एभरेष्ट र सुगम ग्यास
२.पेप्सीकोला, काठमाडौं
उपलब्ध ब्रान्डः सगर ग्यास
३. बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि
उपलब्ध ब्रान्ड : नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास
४. सुकेधारा, काठमाडौं
उपलब्ध ब्रान्ड : बाबा र श्री ग्यास
५. कलंकी, काठमाडौं
उपलब्ध ब्रान्डः साइबाबा र श्रीकृष्ण ग्यास
६. हरिसिद्धि, ललितपुर
उपलब्ध ब्रान्डः श्रीराम ग्यास
संघका अनुसार तोकिएका केन्द्रमा उपत्यकामा बिक्री वितरण हुने संघका सदस्य उद्योगका ग्यास सिलिन्डर मात्र साटफेर गरिनेछ। यी विशेष केन्द्रबाहेक अन्य स्थानबाट फरक ब्रान्डका सिलिन्डर साट्ने व्यवस्था भने गरिएको छैन। उपभोक्ताले केन्द्रमा जानुअघि सम्बन्धित विक्रेतासँग फोनमार्फत सम्पर्क गरेर ग्यासको उपलब्धताबारे बुझ्न सक्नेछन्।
संघले भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात सहज रूपमा भइरहेको जनाएको छ। संघका अनुसार गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री वितरण गरिएको थियो। तर, आपूर्ति सहज रहेको दाबीका बीच पनि केही उपभोक्ताले चाडपर्वको समयमा ग्यास नपाएको र फरक ब्रान्डका सिलिन्डर साट्न नपाउँदा समस्या भएको गुनासो गरेका थिए।संघका अध्यक्ष दिवान चन्दले उपभोक्ताका यिनै समस्यालाई सम्बोधन गर्न विशेष बिक्री तथा साटफेर केन्द्र सञ्चालन गर्न लागिएको बताएका छन्।
विशेष केन्द्र सञ्चालनले उपभोक्तालाई ग्यास प्राप्त गर्न र सिलिन्डर साट्न सहज बनाउने अपेक्षा गरिएको छ। यद्यपि, तोकिएको अवधिमा केन्द्रहरूमा ग्यासको पर्याप्त मौज्दात र वितरण व्यवस्थापन प्रभावकारी हुनु यसको सफल कार्यान्वयनका लागि महत्त्वपूर्ण हुनेछ।













