बहुप्रतिक्षित स्वास्थ्य बीमा कार्यक्रम अब चन्द्रागिरिमा नगरमा पनि सुरू हुने

Thankot Times

चन्द्रागिरि नगरपालिकामा पनि स्वास्थ्य बीमा कार्यक्रम  कार्यान्वयन हुने भएको छ । सङ्घीय सरकारको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले सहजीकरण गरिरहेको छ ।

हाल चन्द्रागिरि नगरमा १५ शय्याको थानकोट नगर अस्पताल, चार शहरी स्वास्थ्य केन्द्र तथा  ११ स्वास्थ्य चौकी (क्लिनिक) सञ्चालनमा छन् । यी स्वास्थ्य संस्थामा सरकारको मापदण्ड अनुसारका प्रयोगशालाको पनि सुविधा छ । यसका अतिरिक्त बीमा कार्यक्रम कार्यान्वयनले नगरबासीको स्वास्थ्य अवस्था थप सुधार हुने अपेक्षा गरिएको  छ ।

चन्द्रागिरि–२ मसिनेमा आयोजित ‘टेलिहेल्थ क्याम्प’को शुभारम्भ गर्दै नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन हुन लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन हुन लागेको छ । विपन्न नागरिकको स्वास्थ्य सुधारमा यसले गुणात्मक फड्को मार्नेछ ।”

चन्द्रागिरि–४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न जर्मन विकास बैंक (केएफडब्लू) रु. एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा अत्याधुनिक अस्पताल निर्माण हुन लागेको उहाँले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “नगरबासी उपचारका लागि अन्यत्र जानु नपर्ने गरी स्वास्थ्यका पूर्वाधार, जनशक्ति तथा उपकरण विकासमा नगरपालिकाले उच्च प्राथमिकता दिएको छ । नगरभित्रका सबै स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी  सेवा प्रदान गरिराखेका छौँ ।” नगरपालिकाले सशस्त्र प्रहरी बल अस्पताल बलम्बुसँगको सहकार्यमा कोभिड–१९ को  पिसिआर परीक्षणमा नगरबासीलाई सहयोग गरिराखेको छ । पछिल्लो समय कोरोनाविरुद्धको खोप लगाउन नगरपालिकाले घरदैलो अभियान सञ्चालन गरी खोप कार्यक्रम पनि सञ्चालन गरिराखेको छ ।

नगरपालिकाको सहयोगमा टेलिउपचार टिम र  पहिलो पाइला नेपालद्वारा आयोजित सो  टेलिहेल्थ क्याम्पमा ६० भन्दा बढी बिरामीले टेलि उपचार एपमार्फत विशेषज्ञ चिकित्सक तथा २०० भन्दा बढी बिरामीले प्रत्यक्ष रुपमा चिकित्सकसँग स्वास्थ्य सेवा लिएका थिए ।

यसरी प्रदान गरिन्छ टेलिउपचार सेवा 

टेलि उपचार बिरामीहरुलाई विशेषज्ञ चिकित्सकसँग अनलाइनमार्फत स्वास्थ्य सेवा जाँच गराउने एक आधुनिक प्रविधिका रुपमा स्थापित मोबाइल एप हो । टेलि उपचारमार्फत घर तथा अफिसमा नै बसेर आफ्नो समस्याअनुरुप विशेषज्ञ चिकित्सकसँग मोबाइल, ल्यापटप तथा ट्याब्लेटको प्रयोगमा स्वास्थ्य जाँच गराउन सकिन्छ । यो एपको प्रयोग गरी बिरामीहरुले घरमा नै बसेर स्वास्थ्य समस्या चिकित्सकलाई भन्न सक्दछन् । बिरामीसँगको अनलाइन भिडियो परामर्शपश्चात लक्षणअनुसार चिकित्सकले औषधि तथा आवश्यक सल्लाह प्रदान गर्ने गरिन्छ ।

चिकित्सकको सल्लाहले बिरामीले आवश्यकताअनुसार ‘रिपोर्ट’ कार्डका रुपमा राख्न सक्दछन् । बिरामीको सुरक्षित स्वास्थ्य रेकर्ड तथा ‘डिजिटल प्रेसकिप्सन’ एपमा नै राख्न सकिने जनाइएको छ ।

बीमा गरेमा के कस्तो सेवा सुविधा पाइन्छ ?

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनैपनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।

तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन ।

बिरामीको अवस्था, अस्पतालले दिने सुविधा तथा नजिकको पायक पर्ने स्थानको आधारमा समितिले अस्पतालहरुको सूची तयार पारेको छ । त्यही सूची तथा सम्झौताका आधारमा विरामीहरुले विभिन्न सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य सेवा लिइरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *